६ असार / अर्थ र व्यापार - नेपालमा बहुआयामिक गरिबी २८.६ प्रतिशतमा झरेको छ । अक्सफोर्ड युनिभर्सिटीले विकास गरेर संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)ले समेत मान्यता दिइसकेको बहुआयामिक गरिबी सूचकांक (एमपीआई)ले वास्तविक गरिबीको स्थिति देखाउँछ । बहु–आयामिक गरिबीअन्तर्गत स्वाथ्य, शिक्षा, जीवनयापनका १० सूचकलाई गणना गरिन्छ, जसमा पोषण, शिशु मृत्युदर, विद्यालयमा रहने वर्ष, खाना पकाउने इन्धन, सरसफाइ, खानेपानी, विद्युत्, भूइँ (बसोबासको गुणस्तरीयता) र सम्पत्ति पर्छन् ।
अक्सफोर्ड विश्वविद्यालयको अक्सपोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसियटिभ (ओफी)द्वारा सार्वजनिक गरिएको ग्लोबल मल्टिडाइमेन्सल पोभर्टी इन्डेक्स(२०१७ (एमपीआई)अनुसार नेपालमा बहुआयामिक गरिबी २८.६ प्रतिशत छ । सन् २००६ को तथ्यांकमा आधारित पहिलो विश्लेषणअनुसार नेपालमा बहुआयामिक गरिब ६४.७ प्रतिशत रहेकामा सन् २०११ को तथ्यांकमा आधारित विश्लेषणले यो ४२.२ प्रतिशतमा झरेको थियो। हाल सन् २०१४को तथ्यांकमा आधारित विश्लेषणअनुसार घटेको हो । यसका पछाडि रेमिट्यान्स, सामाजिक क्षेत्रमा सरकारको बढ्दो खर्च र छिमेकी मुलुकहरूको उच्च वृद्धिबाट पोखिएको प्रभावजस्ता बहुपक्षीय कारणहरूले भूमिका खेलेका छन् ।
यो प्रतिवेदनअनुसार नेपालको एमपीआई सूचक ०.१२६ रहेको छ । आयको आधारमा १.९० अमेरिकी डलरको सीमाभन्दा कम आय हुने १४.९ प्रतिशत, ३.१० डलरको सीमामा ४८.४ प्रतिशत गरिब छन् भने राष्ट्रिय गरिबीको सीमारेखाअनुसार २५.२ प्रतिशत (हाल २३.२ प्रतिशतको अनुमान) गरिब छन् । नेपालका कुल गरिबमध्ये ग्रामीण क्षेत्रमा ३३.१ प्रतिशत र सहरी क्षेत्रमा ७ प्रतिशत बहुआयामिक गरिबी भएको वा कुल गरिबमध्ये ८२.६ प्रतिशत गाउँमा बस्ने र १७.४ प्रतिशत सहरमा बस्ने गरेको यो अध्ययनले देखाएको छ ।
भौगोलिक क्षेत्रअनुसार गरिबीको सघनता पनि फैलिएको छ । यसअनुसार सबैभन्दा धेरै गरिबी सुदूरपश्चिमी हिमाली क्षेत्रमा ५९.५ प्रतिशत र सबैभन्दा कम मध्य पहाडी क्षेत्रमा ११.६ प्रतिशत मात्र छ । अध्ययनअनुसार मध्य र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्र बहुआयामिक गरिबीको सघनता फैलिएको क्षेत्र हो, जहाँ औसत गरिबी दर ५२।५ प्रतिशत छ । यसपछि अत्याधिक गरिबी रहेको क्षेत्र मध्य तराई हो, जहाँ गरिबीको दर ४२.८ प्रतिशत छ ।
भौगोलिक अवस्थाका आधारमा नेपाललाई १५ क्षेत्रमा विभाजित गरेर निकालिएको सूचकांकअनुसार मध्यपश्चिमी हिमाली क्षेत्रमा ५९.५ प्रतिशत, सुदूरपश्चिम पहाडी क्षेत्रमा ५०.७ प्रतिशत, मध्यपश्चिम पहाडी क्षेत्रमा ४७.५ प्रतिशत बहुआयामिक गरिबहरू रहेकोमा मध्य तराइ क्षेत्रमा ४२.८ प्रतिशत गरिब छन् । यसैगरी, सुदूरपश्चिमी हिमाली क्षेत्रमा ३२.८ प्रतिशत, पूर्वी पहाडी क्षेत्रमा ३०.९ प्रतिशत, मध्यपश्पचिमी तराइ क्षेत्रमा ३०.२ प्रतिशत, पूर्वी तराइ क्षेत्रमा ३०.५ प्रतिशत गरिब छन् ।
तपाईको प्रतिक्रिया