२३ भदौ/अर्थ र व्यापार – भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।
जेनजी पुस्ता नेताहरुले गरेको भ्रष्टाचार अति भो, अब कुनै हालतमा नसहने भन्दै सडकमा ओर्लिएपछि सरकारले उनीहरूमाथी ठाउँ ठाउँमा गोली हानेर प्रदर्शनलाई भडकाउने काम गरेको छ । प्रदर्शनकारीमाथी प्रहरीले हानेको गोली लागेर अहिलेसम्म काठमाडौमा २ जनाको ज्यान गएको छ भने धेरै घाइते भएका छन् ।
जेनजी युवाहरूले सुरु गरेको प्रदर्शनले थप हिंसात्मक स्वरुप लिएको छ । प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा २ जनाको मृत्यु भएको बुझिएको छ । सो अस्पतालमा अहिलेसम्म करिब एकसय भन्दा बढी घाइतेहरुको त्यहाँ उपचार भइरहेको छ । वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ । प्रहरीको गोली लागेर घाइतेभएपछि प्रदर्शनकारीहरुले काठमाडौंको बानेश्वर क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको छ । प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले दमन गर्न थालेपछि बानेश्वर क्षेत्र निकै तनावग्रस्त भएको छ ।
टिकटकमार्फत आफैं आह्वान गरेर जेनजी पुस्ता स्वतस्फूर्तरुपमा सडकमा निस्किएको हो । काठमाडौं, पोखरा, विराटनगर, लगायत शहरका मुख्य सडक जेनजी पुस्ताले कब्जा गरेको छ । जेनजी पुस्ता स्कुल र कलेजको ड्रेसमै प्रदर्शनमा सहभागी भएका छन् । उनीहरुले काठमाडौंमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्।
प्रहरीले प्रदर्शनकारी कम हुने आँकेर सुरुमा मुख्य सडकमा गाडी चलाउन दिएकामा युवाहरुको संख्या एकाएक बढेपछि हतार हतार सडक खाली गराउनु परेको थियो । प्रदर्शनका कारण माइतीघर–बानेश्वर सडक पूर्णरुपमा ठप्प भएको छ । सडक प्रदर्शनमा उत्रिएकाहरुले सरकार विरोधी नारा लगाएका छन् ।
उनीहरुको मुख्य निशानामा प्रधानमन्त्री केपी शर्मा परेका छन् । जेनजी पुस्ताले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नारा लगाएका छन्। ओलीलाई लक्षित गरी उनीहरुले ‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’ लगायत नारा लगाएर प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीको मुख्य आक्रोश सामाजिक सञ्जाल बन्दसँगै दिनहुँ बढ्दो भ्रष्टाचारप्रति देखिएको छ । त्यसैले त प्रदर्शनमा नारा घन्कियो– दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने । जनताले तिरेको कर विकास निर्माणमा खर्च नगरेर दुरुपयोग गरी नेताले आफ्नो गोजीमा हालेको आरोप जेनजी पुस्ताले लगाएका छन् ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले काठमाडौ लगायत देसैभर प्रदर्शनको आह्वान गरेपछि सरकारले सोमबार बिहानैदेखि सडकमा सुरक्षाकर्मीको बाक्लो घेरा बनाएको थियो ।
प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएपछि प्रदर्शनकारी थप उग्र बनेका छन् । अहिले काठमाडौंमा कफ्र्यू आदेश जारी भएको छ । सोमबार साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि बानेश्वर, सिंहदरबार र लैनचौर क्षेत्रमा कफ्र्यू लगाएको छ । तर, कफ्र्यू आदेश जारी भए पनि प्रदर्शन रोकिएको छैन । कफ्र्यू आदेशको अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् ।
केही प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न खोजेपछि थापागाउँ हुँदै सिंहदरबारतर्फको सडकमा पनि प्रदर्शन गरिरहेका छन् ।शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न खोजेका उनीहरूमाथी प्रहरीले गोली नै चलाएपछि आनदोलन थप चर्किएको छ । अहिले प्रहरीले बानेश्व क्षेत्रमा दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ ।
यसअघि सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोख्दै आएको जेनजी पुस्ताले सरकारले त्यो थलो उत्तर कोरिया पथ अपनाउँदै भदौ १९ बन्द गरिदिएपछि सडकमा ओर्लिएर आजाव सुनाएको हो।
‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’, ‘भ्रस्ट नेता होसियार’जस्ता नारा लगाएर जेनजी पुस्ताले नेताहरुको कुशासनबाट आफूहरु वाक्क भएको र अब शासनसत्तामा उनीहरुलाई दोहोरिन नदिने सन्देश दिएका छन्।
कुशासन र नेताहरुप्रति चर्को आक्रोश व्यक्त गरिरहँदा प्रदर्शनमा सहभागी जेनजी पुस्ता सडकमा ओर्लिएका हुन् । उनीहरुको आन्दोलनलाई अहिले सडक किनारमा बसेर वयस्कहरुले साथ दिएका छन् । वयस्कहरुले नेताहरुको भ्रष्टाचारविरुद्ध बोल्ने हिम्मत गरेको भन्दै जेनजी पुस्ताको प्रदर्शनलाई ताली बजाएर समर्थन गरेका छन् । जेनजीलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले पनि साथ दिएका छन्। उनले प्रदर्शनकारीका लागि घुम्ती शौचालयको व्यवस्था गरिदिएका छन् ।
कुनै संगठित संस्थाको साथ विनै कुशासनविरुद्ध जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा आउनुलाई शासन सत्तामा वयोवृद्ध नेताबाट उनीहरु आजित भएको रुपमा हेरिएको छ । उनीहरुले नेताहरुको कुशासनका कारण आफ्ना अभिभावकले कष्ट झेले पनि आफूहरु सहने पक्षमा नरहेको सन्देश प्रदर्शनमार्फत दिएका छन् । उनीहरूले अब यो प्रदर्शन जस्तोसुकै दमनबाट पनि नरोकिने चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया