१२ भदौ/अर्थ र व्यापार – सरकारले सामाजिक सञ्जाल कम्पनीलाई आगामी १ साताभित्र सूचीकरण गरिसक्न ताकेता गरेको छ । सूचीकृत हुनका लागि गरेको आह्वानलाई बेवास्ता गरेका सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पुनः चेतावनीसहित यस्तो ताकेता गरेको हो ।
मन्त्रालयले एक साताभित्र सबै सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण गरिसक्न भनेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले तोकिएको मितिभित्र सूचीकरण नगर्ने वा सूचीकरणको प्रयोजनका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई बन्द गर्ने चेतावनी दिएको छ ।
तोकिएको समयभित्र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराइने पनि मन्त्रालयले जनाएको छ । नेपालमा टिकटक, भाइबर र वीटक मात्रै सूचीकरण भएका छन् । फेसबुक, एक्स लगायतका अरू सामाजिक सञ्जालहरू आगामी १८ भदौभित्र सूचीकरण नभए वा सूचीकरणको प्रक्रियाका लागि सम्पर्कमा नआए दूरसञ्चार प्राधिकरणले बन्द गर्नेछ ।
यसका लागि प्राधिकरणलाई निर्देशनसमेत दिइएको मन्त्रालयले जनाएको छ । सूचीकरणसँगै नेपालमा सम्पर्कबिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्नसमेत मन्त्रालयले निर्देशन दिएको छ ।
यसअघि गत ९ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार मन्त्रालयले ७ दिनको समय दिई सूचीकरणका लागि सार्वजनिक आह्वान गर्ने निर्णय गरेको थियो । सोही निणर्य बमोजिम अहिले सञ्चार मन्त्रालयले यस्तो ताकेता गरेको हो ।
तपाईको प्रतिक्रिया