 
                                                                   
१८ जेठ/अर्थ र व्यापार – पछिल्ला तीन दिन लगातार घटेको शेयर बजार बिहीबार भने दोहोरो अंकले बढेको छ । आज कारोबार रकम पनि बढेर साढे १ अर्ब माथि छ । 
राजश्वले पूँजीगत लाभकरबारे प्रष्ट पारेपछि सेयर कारोवार परिसूचक नेप्से दोहोरो अंकले बढेको हो । 
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बिहीबार बजार १६.५४ अंकले बढेको हो । ०.८९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८६६.३४ अंकमा पुगेको छ । 
आज २७२ कम्पनीका ६१ लख २८ हजार ६ सय २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोठ ४६ लाख ४८ हजार ९ सय २२.३४ रुपैयाँ बराबरको कारोबार भएको हो । 
समग्रमा बजार बढेको दिन आज जोशी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.९४ प्रतिशतले नाफा कमाएका छन् । 
त्यसैगरी सनराइज फोकस्ड इक्वीटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ६ प्रतिशतले घाटा व्यहोरेका हुन् ।
आज पनि प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ । उक्त बैंकको २३ करोड २१ लख ३४ हजार ५ सय ७९ रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 
आगामी आवको बजेट सार्वजनिक भएको अघिल्लो दिनबाट बजार घट्न थालेको थियो । बजेट सार्वजनिक भएपछि आर्थिक विधेयक २०८० को दफा २९ प्रति लगानीकर्ताहरु सशंकित भएपछि बजार ह्वात्तै घटेको थियो । यसबारेमा आन्तरिक राजश्व कार्यालयले स्पष्ट पारेपछि सेयर बजार आज उकालो लागेको हो ।
साताको पहिलो दिन आइतबार बजार १७.३८ अंकले घट्दा १ अर्ब ५४ करोड ६५ लाख ४१ हजार १९।४० रुपैयाँ , मंगलबार ५३.१६ अंकले बजार घट्दा २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८ सय ४४.६१ रुपैयाँ र हिजो बुधबार ३८.८३ अंकले बजार घट्दा २ अर्ब ३१ करोड ५१ लख ६९ हजार ५ सय ७१.९४ रुपैयाँ बराबरको कारोबार भएको थियो । 
सोमबार भने गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो । अब लगानीकर्ताबीच बजेटपछिको दुबिदा हटेसँगै विस्तारै सेयर कारोबारमा सुधार भएको देखिएको छ । 
तपाईको प्रतिक्रिया