१८ भदौ/अर्थ र व्यापार – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसी, बोका र च्यांग्राको अनलाइन बुकिङ खुला गरेको छ । दशैको घटस्थापना आउन अब १८ दिन मात्र बाँकी छ । दशैंकालागि अब उपभोक्ताले घरमै बसेर अनलाइनमार्फत खसी बोका र च्यांग्राको बुकिङ गर्न सक्नेछन् । खाद्य कम्पनीले अनलाइन बुकिङको व्यवस्था यसपाली पहिलोपटक सुरु गरेको हो ।
खाद्य कम्पनीको खरिद विभागका विभागीय प्रमुख अनन्तराज पौडेलले बुधबार बिहानदेखि अनलाइन बुकिङ खुला गरिएको जानकारी दिए ।
अनलाइन बुकिङ ३० भदौसम्म जारी रहने छ । उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमा गएर आफूलाई चाहिएको खसी, बोका वा च्यांग्रा छनोट गर्न सक्नेछन् । बुकिङ गर्दा एक पटकमा अधिकतम १० वटासम्म छनोट गर्न सकिने पौडेलले जानकारी दिए ।
बुकिङका लागि उपभोक्ताले अग्रिम भुक्तानी गर्नुपर्ने छ । च्यांग्राका लागि एउटाको ५ हजार रुपैयाँ र खसी र बोकाका लागि ४ हजार रुपैयाँ अग्रिम शुल्क लाग्ने छ ।
पौडेलका अनुसार यो अग्रिम भुक्तानी हाललाई बुकिङ सुनिश्चित गर्नमात्र हो । पशुको अन्तिम मूल्य भने तौलका आधारमा निर्धारण गरिने छ । कम्पनीले २० देखि २५ केजी र २५ देखि ३० केजी , ३० देखि ३५ केजी र ३५ देखि ४० केजीसम्मका तौल समूहमा पशुहरू छनोट गर्ने विकल्प अनलाइनमा राखेको छ ।
अन्तिम बिक्री मूल्य कम्पनीको तत्कालीन बिक्री मूल्यमा तौल अनुसार तय गरिने र भुक्तानी गरिएको अग्रिम रकम कुल बिलबाट घटाइने खाद्य कम्पनीले जनाएको छ । बुकिङ गरिएका खसी, बोका र च्यांग्रा घटस्थापनादेखि सप्तमीसम्म वितरण गरिने छ । अनलाइन बुकिङ गर्दा नै उपभोक्ताले आफूलाई पायक पर्ने र सहज हुने मिति छनोट गर्न सक्नेछन् ।
बुकिङ र भुक्तानी प्रक्रिया पूरा भएपछि उपभोक्तालाई एसएमएस मार्फत एउटा कोड र पशु बुझिलिन आउने मितिसहित जानकारी पठाइने छ । उनले उपभोक्ताले सोही कोड र निर्धारित मितिमा उपस्थित भएर कम्पनीको बिक्री केन्द्रबाट आफ्नो पशु बुझिलिन सक्ने बताए ।
खाद्य कम्पनीले यस वर्ष २ हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने छ । यस्तै कम्पनीले सञ्चालन गर्ने सुपथ मूल्य पसलबाट खसीबोका तथा च्यांग्रा खरिद गर्दा प्रतिकेजी १० रुपैयाँ छुट दिइने खाद्य कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया