२२ भदौ/अर्थ र व्यापार – एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुदेश खालिङ पुनः नियुक्त भएका छन् । बैंकको आइतबार बसेको संचालक समिति बैठकले खालिङलाई पुनः दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो ।
नवनियुक्त सीइओ खालिङको आगामी कार्यकाल ४ वर्षको हुने छ । आगामी ८ असोजदेखि उनको नयाँ कार्यकाल लागू हुने बैंकले जनाएको छ ।
खालिङसँग साढे तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनी एभरेष्ट बैंकमा पहिलो नेपाली सीइओ हुन् । एभरेष्टअघि खालिङ सिटिजन्स बैंकको संचालक थिए ।
त्यसअघि लक्ष्मी बैंकको सीइओका रूपमा काम गरेको अनुभव खालिङसँग छ । खालिङ लक्ष्मी बैंकको मुख्य जोखिम अधिकृतको जिम्मेवारीसहित कार्यकारी उपाध्यक्षबाट प्रमुख कार्यकारी बनेका थिए ।
लक्ष्मी बैंकअघि खालिङले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा प्रमुख सूचना अधिकृतका रुपमा काम गरेका थिए । खालिङसँग बैंकिङ जोखिममा समेत काम गरेको लामो अनुभव छ ।
तपाईको प्रतिक्रिया