२२ असार/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बैंकहरुको चुक्ता पुँजी धेरै बढेकाले ‘उल्लेख्य स्वामित्व’ एक प्रतिशतमा झार्न प्रस्ताव गरिएको जवाफ दिएका छन् ।
उनले आइतबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा यस्तो जवाफ दिएका हुन् । पौडेलले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा चुक्ता पुँजी धेरै बढिसकेको अवस्थामा त्यसको २ प्रतिशत धेरै हुने भएकाले एक प्रतिशतमा झार्न प्रस्ताव गरेको बताएका हुन् ।
‘कतिपय माननीयले उल्लेख्य स्वामित्वलाई १ प्रतिशत कायम गर्नुपर्छ भन्नु भएको छ । कतिपयले २ प्रतिशत नै ठिकै हो भन्नुभयो। वाणिज्य बैंकको चुक्ता पुँजी बाफिया आउनुअघि २ अर्ब थियो। बाफिया आएपछि ८ अर्ब पु¥याइयो । अहिले ३०/३५ अर्ब रूपैयाँसम्म चुक्ता पुँजी पुगेको छ । त्यसैले चुक्ता पुँजीको २ प्रतिशत उल्लेख्य सेयर स्वामित्व धेरै हुने भएकाले १ प्रतिशत कायम गर्न प्रस्ताव गरिएको हो,’ पौडेलले भने ।
जवाफ दिनेक्रममा उनले बैंक तथा वित्तीय संस्थाको सञ्चालक वा उल्लेख्य स्वामित्व भएका व्यक्तिले सोही बैंकबाट ऋण लिन नपाउनेबारे पनि सांसदहरूको ध्यानाकर्षण गराएका थिए ।
तपाईको प्रतिक्रिया