२ असार/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । यसदिन सेयर बजार परिसूचक नेप्से जम्मा २ दशमलब ८० अंकले बढेर २६ सय ५८ दशमलब ६६ विन्दुमा कायम भएको छ ।
१ सय २४ वट कम्पनीको सेयर मूल्य बढेको छ । १ सय २४ वटा कम्पनीको सेयरमूल्य घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै ४ दशमलब ६९ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकिङ उपसमूहको सेयरमूल्य ०.४८ प्रतिशत, विकास बैंक उपसमूहको ०.२९ प्रतिशत, जीवन बीमा उपसमूहको ०.१२ प्रतिशत , माइक्रोफाइनान्स उपसमूहको ०.५९ प्रतिशत , निर्जीवन बीमा उपसमूहको ०.२५ प्रतिशत र व्यापार उपसमूहको सेयर मूल्य ०.०९ प्रतिशतले बढेको छ ।
यसदिनको सेयर कारोबार करिब साढे ३ महिनायताकै उच्च कारोबार हो । यसदिन १३ अर्ब १८ करोड ६९ लाख ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम १९ फागुन यताकै उच्च हो । अघिल्लो दिन ११ अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
अघिल्लो दिनसम्म उच्च दरले बढेको हाइड्रोपावर उपसमूहको १ प्रतिशतले घटेको छ । फाइनान्स उपसमूहको सबैभन्दा धेरै १ दशमलब २२ प्रतिशतले घटेको छ । अन्य उपसमूहको शून्य दशमलब ३३ र लगानी उपसमूहको शेयरमूल्य शून्य दशमलब १३ प्रतिशतले घटेको छ ।
पियोर इनर्जी र पिपुल्स पावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ८.३७, सोल्टी होटलको ६.३०, ओरियन्टल होटलको ५.१३, बोटलर्स नेपाल बालाजुको ५.०९ प्रतिशत मूल्य बढ्यो ।
अपरहेवाखोला हाइड्रोपावरको सेयरमूल्य ७ दशमलब ५८ प्रतिशत , श्री इन्भेस्टमेन्ट फाइनान्सको ६ दशमलब ३३ प्रतिशत, सिनर्जी पावरको ४ दशमलब ८४ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य ४ दशमलब ३५ प्रतिशतले घटेको छ । धेरै कारोबार भएका कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङयादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी र राधि विद्युत् छन् ।
तपाईको प्रतिक्रिया