logo

एमसिसीले अनुदानअन्तर्गत खरिद र कार्यालय सञ्चालनकालागि स्वीकृति दियो

    266   पटक पढिएको


१० चैत/अर्थ र व्यापार – अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को अनुदानअन्तर्गत खरिद र कार्यालय सञ्चालनसम्बन्धी कार्य गर्न नेपाललाई अनुमति दिएको छ । अनुदान कार्यान्वयन गर्ने निकाय मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए–नेपाल)ले शुक्रबार आफ्नो वेबसाइटमार्फत खरिद कार्य र कार्यालय सञ्चालनसम्बन्धी कार्य गर्न एमसिसीबाट अनुमति प्राप्त भएको जानकारी दिएको हो ।
जसकालागि गत शुक्रबार नै एमसिए नेपाललको बोर्ड बैठकसमेत बसेको थियो । यद्यपि, त्यसको निर्णय भने सार्वजनिक भइसकेको छैन । एमसिसीले गत २ फागुनमा इमेलमार्फत अनुदान स्थगित भएको जानकारी दिएको थियो ।
गत २० जनवरीमा अमेरिकी राष्ट्रपतिको पदभार सम्हालेका डोनाल्ड ट्रम्पले शपथ गरेलगत्तै अमेरिकाका सबै सहायता ९० दिनका लागि स्थगित गर्ने गरी कार्यकारी आदेश जारी गरेका थिए । त्यसलगत्तै नेपाल आउने अमेरिकी सहयता स्थगित भएको भए पनि एमसिसीको अनुदानले भने निरन्तरता नै पाएको थियो । तर, १४ फेब्रुअरीमा एमसिसीले इमेलमार्फत २० जनवरीको कार्यकारी ओदशअनुसार नै यो अनुदान पनि स्थगित गरिएको जानकारी दिएको थियो । तर, अहिले खरिद र कार्यालय सञ्चालनसम्बन्धी काम गर्न एमसिसीबाट स्वीकृत आएको एमसिए नेपालले जानकारी दिएको छ ।
अमेरिकाले नेपाललाई दिने एमसिसी अनुदान निरन्तरता दिने वा रोक्ने भन्ने विषयमा यसको प्रभावबारे समीक्षा गरिरहेको छ । तर, पछिल्लो स्वीकृतिले समीक्षापछि आउन सक्ने निर्णयलाई संकेत नगर्ने एमसिए नेपालले बताएको छ ।
‘अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै वेला अमेरिकी सरकारले एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ । यो अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति कुनै संकेत भने गर्दैन,’ एमसिए नेपालले आफ्नो सूचनामा भनेको छ ।
नयाँ स्वीकृतिअनुसार अब एमसिए नेपालले आवश्यक टेन्डर आह्वान र कार्यालय सञ्चालनसम्बन्धी काम गर्न सक्नेछ । ‘अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्वपूर्ण खरिद कार्य र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्य पर्छन् । एमसिए–नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको छ भने पारदर्शिताप्रति प्रतिबद्ध रहेको छ । एमसिए–नेपाल अमेरिकी सरकारको वैदेशिक सहायतासम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गर्दै आफूबाट हुनुपर्ने काम भएको सुनिश्चित गर्न नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसनसँग निकटतापूर्वक समन्वय गरिरहेको छ,’ एमसिए नेपालले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
पछिल्लो स्वीकृतिअनुसार एमसिए नेपालले कार्यालय सञ्चालनका लागि आवश्यक काम–कारबाही गर्न सक्नेछ । यसैगरी, टेन्डर प्रक्रियामा जान बाँकी परियोजना अर्थात् मुग्लिन–नारायणगढ सडकको मर्मतका लागि बोलपत्र आह्वान पनि गर्न सक्नेछ । परामर्श सेवासम्बन्धी पनि टेन्डर आह्वान गर्न सक्नेछ ।
परियोजना प्रभावित नागरिकको पुनर्उत्थान सम्बन्धमा पनि आवश्यक काम गर्न सकिने स्रोतको भनाइ छ । १३ भदौ २०८० देखि कार्यान्वयनमा प्रवेश (इन्ट्री इन्टु फोर्स) गराइएको यसअन्तर्गतका परियोजना पाँच वर्षभित्र १२ भदौ २०८५मा सम्पन्न गर्नुपर्ने बाध्यता छ । तर, यसरी बिचमा काम रोकिँदा समयमै परियोजना बन्नेमा चुनौती हुने देखिएको थियो ।
त्यसपछि एमसिए नेपालले आवश्यक सहजीकरण गर्न पहल गरिरहेको थियो । त्यसपछि एमसिसीले आवश्यक काम गर्न स्वीकृत पठाएको भनाइ छ । एमसिसीले अनुदान निरन्तरता दिन्छ वा रोक्का गर्छ भन्ने विषयमा २० अप्रिलपछि नै निर्णय गर्नेछ । तर, एमसिसीको पछिल्लो निर्णयले केही आत्मविश्वास बढाएको एमसिसिले जनाएको छ ।
यता सरकारले परियोजनालाई अगाडि बढाउन आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा आवश्यक रकम ‘इयरमार्क’ (बजेट सुनिश्चित) गरिसकेको छ । अर्थात्, एमसिसीमार्फत पैसा नआए पनि सम्बन्धित परियोजनालाई निरन्तरता दिन सरकार आफँैले बजेट दिनेछ ।
एमसिसी अनुदानका लागि २९ भदौ ०७४ मा दिपक्षीय सम्झौता भएको थियो । जुन सम्झौता १५ फागुन २०७८ मा संसद्बाट अनुमोदन भएसँगै कार्यान्वयनको ढोका खुलेको थियो । त्यसपछि १३ भदौ ०८० देखि कार्यान्वयनमा प्रवेश (इन्ट्री इन्टु फोर्स) गराइएको थियो । परियोजना कार्यान्वयन प्रवेश गरेको डेढ वर्ष भइसकेको छ ।
सम्झौताअनुसार कार्यान्वयन सुरु भएको पाँच वर्षभित्र १२ भदौ २०८५ भित्र एमसिसीअन्तर्गतका परियोजनाको निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
एमसिसीको ५५ करोड डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख डलरमा चार सय केभी क्षमताका तीनसय १५ किमि लामो चार प्रसारणलाइन, चार सय केभी क्षमताका तीन सबस्टेसन, पूर्व–पश्चिम राजमार्गको धानखोला–लमही ४० किमि सडकखण्ड र मुग्लिन–नारायणगढ सडकलाई विशेष रूपमा मर्मत गरिँदै छ ।
हालसम्म एक प्रसारणलाइन र तीन सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । ‘न्यू बुटवल–नेपाल÷भारत सीमा’ प्रसारणलाइन निर्माणका लागि एक करोड २३ लाख ६० हजार डलर १४ भदौमा भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ ।
यसैगरी, भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङसँग रातमाटे सबस्टेसन पाँच करोड १५ लाख डलरमा र नयाँ दमौली सबस्टेसन तीन करोड ८८ लाख ९० हजार डलरमा बनाउने गरी सम्झौता भएको छ । यस्तै, नयाँ बुटवल सबस्टेसन बनाउन तीन करोड ५५ लाख १० हजार डलरमा लिंकसन इन्डिया प्रालिसँग सम्झौता भएको छ । अहिले त्यसको निर्माण प्रक्रिया अघि बढिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।