logo

आजबाट सुरु भयो दसैं, घटस्थापनाको दिन शक्तिपिठ र घरघरमा जमरा राखियो   

    1131   पटक पढिएको

२१ असोज / अर्थ र व्यापार – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज (बिहीबार) देखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।
हिन्दु नेपालीको महानचार्ड बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज नै घरघरमा जमरा राखिने गरिन्छ । 
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ मिसिएको जमरा छर्नेे गरिन्छ ।

यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।
परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। आज घटस्थापनाको साइत बिहान ११ः४६ बजे रहेको थियो । 
आज दिनभर चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाको साइतअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए। शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिले जनाएको छ । चित्रा नक्षत्रको मालिक त्वष्टा अर्थात् विश्वकर्मा र वैधृति योगको मालिक अदिति अर्थात् देवताका आमा विशेष पूजासहित शान्ति गरेर आज घटस्थापना गर्नुपर्छ। चित्रा र वैधृति योग परेका बेला त्वष्टा र अदितिसँगै रुद्र, सूर्य, सोम र मृत्युञ्जयको पनि विशेष पूजा गर्ने शास्त्रीय विधि छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि उनले बताए ।
दुर्गा देवीका तीन वटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई बध गर्न लिएका नौ वटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ।

९ दिन नौ दुर्गाको पूजा
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ। दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउँछन्। दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।
दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ। यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन्। नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठपारायण पनि गर्ने गरिन्छ। यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गर्छ ।

विजयादशमीको साइत असोज २९ गते १०ः२ मा
नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र १० दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले यस्तो अवस्थामा खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताए । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज २९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल, प्रसाद ग्रहण गर्ने गरिन्छ । असोज २९ गते देवी विसर्जनको साइत बिहान ८ः१९ बजे रहेको समितिले जनाएको छ। टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०ः०२ बजेको साइत उत्तम छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।
विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ। गत वर्ष जस्तो कोरोना महामारी यस वर्ष दसैँमा नभए पनि जोखिम अन्त्य नभइसकेकाले सचेतना अपनाउन समितिले आह्वान गरेको छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।
हनुमानढोकाको दसैँ घरमा विशेष पूजा
परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ। बिहीबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए।
दसैँ घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । कोरोना जोखिम कायमै रहे पनि यस वर्ष महानवमीका दिन हनुमानढोकाको कोतमा दिइने ५४ बोका र ५४ राँगासहितको बलि दिइने भएको छ । कोरोना महामारीका कारण गत वर्ष बलि स्थगित गरिएको थियो। यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर बलिसहित पूजा आराधना गरिनेछ ।
रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ। धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन् । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।