७ वैशाख/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १६ दशमलब ६८ अंकले घटेर २७ सय ०६ विन्दुमा कायम भएको छ ।
बिहान बजार खुलेदेखि नै निरन्तर ओरालो यात्रा तय गरेको सेयर बजारमा आइतबार बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण कमजोर देखिएपछि त्यसको प्रभाव सेयर बजारमा पनि देखिएको अनुमान गरिएको छ । यसदिन लगानीकर्ता बैंकहरुको वित्तीय विवरणप्रति केही डराएका कारण आइतबार सेयर बजार घटेको लगानीकर्ताहरुको अनुमान छ ।
आइतबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार २० वटा बाणिज्य बैंकहरु मध्ये ११ वटाको नाफा र ९ वटाको घाटा देखिएको छ । सो विवरण बमोजिम बैंकहरूको नाफा सामान्य १ दशमलब ४ प्रतिशत मात्र बढेको छ । बैंकहरुको सो नाफा वृद्धि पनि बिजनेस बढेर नभई नेपाल राष्ट्र बैंकबाट पाएको सहुलियतका कारण लोन लस प्रोभिजन घट्दा आएको देखिएको छ । अझै साँवा, ब्याज असुलमा बैंकहरू कमजोर नै देखिएका छन् ।
यसैको प्रभाव अहिले सेयर बजारमा पनि देखिएको हो । नेपाली सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरुको उपसमुह नै बढी शक्तिशाली हुने भएकाले बैंकहरुको रिपोर्टसँगै सेयर बजार पनि सोही अनुसार चल्ने गरेको छ । यसदिन बैंक तथा वित्तीय संस्थाको वित्तीय रिपोर्ट कमजोर आएपछि अन्य उपसमुहका कम्पनीको विवरण पनि खस्किन सक्ने लगानीकर्ताको मनोवैज्ञानिक असरले गर्दा बैंक तथा वित्तीय संस्थामा मात्रै नभई अरु उपसमुहको सेयर मुल्य सूचकमा समेत नकारात्मक असर परेका कारण सेयर बजार घटेको हो ।
यसदिन वित्तीय विवरण लगायत राप्रपा, शिक्षकहरु तथा विभिन्न पक्षको आन्दोलनले पनि आइतबारको सेयर बजारलाई केही प्रभाव पारेको सम्बन्धीत लगानीकर्ताहरुले बताएका छन् । यसदिन नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । ८ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन १० अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको थियो । यसदिन ५३ वटा कम्पनीको मूल्य बढ्दा १ सय ९२ वटाको घट्यो । एउटाको स्थिर रह्यो । बैंकिङ, विकास बैंक, फाइनान्स सहित अधिकांश उपसमुहको सेयरमुल्य घटेको छ ।
तपाईको प्रतिक्रिया