१८ असार/अर्थ र व्यापार – नेपाली बैंकिङ क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ ।
फोनपे पेमेन्ट सर्भिस लिमिटेड सँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप कुमारी स्मार्ट मार्फत सहज रूपमा प्रयोग गर्न सकिने सो बै.कले जनाएको छ ।
भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने क्रेडिट कार्ड हो । जसलाई ग्राहकहरुले आफ्नो कुमारी स्मार्ट एपमार्फत सहजै मोबाईलबाट सुचारु गर्न सक्नेछन् ।
फोनपेको क्यूआर मर्चेन्टहरुमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकहरुले अधिकतम ४५ दिन सम्म बिना ब्याज उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत छान्न सक्नेछन् । यसमा सर्तहरु भने लागू हुने सो बैंकले जनाएको छ ।
विगत २४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ३ सय २ शाखा, ३ सय १८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत सुरक्षित, अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।
यसैगरी, बैंकले एटीएम, पीओएस तथा ग्रीन पिन सुविधा विस्तार गर्नुका साथै भिसा, मास्टर कार्ड तथा युपीआई कार्ड स्वीकार्यता देशभरका एटीएम र पीओएस कार्डमा लागू गर्दै डिजिटल कारोबारको पहुँच बढाएको बैंकले आगामी दिनहरुमा पनि विद्युतीय कारोबारलाई प्रथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाहरु प्रदान गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
तपाईको प्रतिक्रिया