२१ वैशाख/अर्थ र व्यापार – ग्लोबल आइएमई बैंक लिमिटेडले आयोजना गरेको ‘ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन’मा टिम क्याल्कुलस प्रथम भएको छ । सो टिमले प्रथम पुरस्कार स्वरुप १ लाख रुपैयाँ जित्न सफल भएको छ ।
आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी सो ह्याकाथनमा डब्लुडीके, लार्के पास, टिम जनकपुर र फ्रडेक्स टोली क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ भएका छन् ।
दोस्रो हुने टोली डब्लुडीकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौ हुने टिम जनकपुर र फ्रडेक्सले १५/१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । साथै, बेष्ट प्रिजेन्टेसन बिधाअन्तर्गत बैंकले डिजीविट्सलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।
बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गर्दै सम्भावित नवीनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरू विकासका लागि यो प्रतियोगिता सञ्चालन गरेको जनाएको छ ।
प्रतियोगितामा २१ टोलीहरूलाई अनलाइन पेपर प्रिजेन्टेसनका लागि छनौट गरिएको थियो। काठमाडौं, महेन्द्रनगर, पोखरा, वीरगंज, काभ्रे, धरानबाट प्रतियोगीहरू सहभागी थिए । नेपालमा पहिलो पटक एआई र एमएलसम्बन्धी ह्याकाथन संचालन गरेकोमा डेपुटी गभर्नर बम बहादुर मिश्रले आयोजक ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए ।
उनले यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीलाई अवसर प्रदान गर्नुका साथै बैंकका सेवा तथा सुविधाहरूमा नवीनतम् प्रविधिको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास राष्ट्र बैंकले लिएको बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरू र यसको चुनौतिहरूको समाधानका लागि सहयोग पुग्नुका साथै नवीनतम् सेवाहरूको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यस प्रतियोगिताको उत्कृष्ट टोलीहरूलाई बैंकले सहकार्य गर्ने अवसर प्रदान गर्ने जानकारी दिए।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले बैंकले तोकेका विभिन्न विषयहरूमा केन्द्रित रही आफ्ना धारणाहरू प्रस्तुत गरेका थिए । प्रतियोगितामा सहभागी हुन विभिन्न टोलीहरूले बैंकको वेबसाइटमार्फत आवेदन दिएका थिए । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा संचालन भएको थियो । जसअन्तर्गत पहिलो चरणमा कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो ।
तपाईको प्रतिक्रिया