४ बैशाख/अर्थ र व्यापार – चालु आर्थिक वर्षको ९ औं महिना चैतमा बैंकहरुको लगानी बढेर झन्डै ६४ अर्ब रुपैयाँ प्रवाह भएको छ ।वैंकर्स संघका अनुसार उपभोक्ता कर्जामा सुधारका साथै ‘एभरग्रिनिङ’का कारण चैतमा बैंकहरुको लगानी बढेको देखिएको छ । गत चैतमा कुल ६३ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह भएको छ ।
पछिल्ला दिन गाडी र घर किन्न ऋणको माग आइरहेको बैंकरहरुले जानकारी गराएका छन्। नेपाल राष्ट्र बैंकले तोकको मापदन्डभित्र रहेर बैंक आधार दरकै हाराहारीमा उपभोक्ता कर्जा दिन थालेको प्रभावले पनि यसपाली बैंकहरुको लगानी विस्तार भएको देखिएको छ । यसबाहेक चैतमा धेरै ऋण प्रवाह भएको देखिनुको अर्को महत््वपूर्ण कारण एभरग्रिनिङ अवस्था नै हो ।
चैत मसान्तको हिसाब ठिकठाक देखाउन बैंकहरुले एउटा ऋण तिर्न घुमाउरो माध्यम प्रयोग गरेर अर्को ऋण सृजना गराएका हुन्छन्। यही बेला बैंकमा लिमिट लिएर बसेकाहरुले सरकारको राजस्वदेखि ब्याज भुक्तानीसम्मका लागि त्यो लिमिट प्रयोग गर्ने भएका कारण पनि ऋण विस्तार उच्च देखिएको हुन सक्ने सम्बन्धीत सरोकारवालाहरुले बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्ररमण खनालले आर्थिक गतिविधि बढ्न थालेकाले कर्जाको माग बढ्न थालेको बताए । ‘आर्थिक गतिविधि बढ्न थालेको छ, सेयर बजार पनि बढिरहेको छ, कर्जाको ब्याजदर धेरै तल आइसकेको अवस्था छ ’ उनले भने ।
सस्तो ब्याजदरका कारण कर्जाको माग बढेको दावी गर्दै उनले भने, ‘सबैले चालु पुँजी कर्जाको लिमिट लिएर बसिरहेको हुन्छन्। उनीहरुले बेला बेलामा ब्याज तिरेर लिमिट कम गरिरहेका हुन्छन्। ब्याज तिर्नु पनि त्यसको उपयोग गर्छन्। जसले गर्दा अन्तिम समयमा कर्जा बढ्यो।’
अहिले २० वटा वाणिज्य बैंकमध्ये १७ वटाले ऋण लगानी बढाएका छन् । चैतमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले ७ अर्ब ९० करोड, नबिल बैंकले ७ अर्ब १० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ६० करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ अर्ब १० करोड कर्जा प्रवाह गरेको छ ।
चैतमा माछापुच्छ्रे बैंकले सबैभन्दा कम १ अर्ब १० करोड कर्जा प्रवाह गरेको छ ।
प्रभु बैंक, कुमारी बैंक र एनआइसी एसिया बैंकको ऋण लगानी भने घटेको छ ।
समिक्षा अवधीमा कुमारी बैंकको ३ अर्ब ५० करोड, एनआइसी एसियाको १ अर्ब ४० करोड र प्रभु बैंकको ५० करोड रुपैयाँले कर्जा लगानी घटेको छ ।
चैतमा बैंकहरुबाट प्रवाह भएको कर्जामध्ये ३६ प्रतिशत एवं २३ अर्ब रुपैयाँ अन्तिम दिन अर्थात चैत ३१ मा गएको छ । नेपाल राष्ट्र बैंकका अधिकारीहरु बैंकहरुले अन्तिम दिनमा एभरग्रिनिङका लागि ठूलो मात्रामा कर्जा प्रभाह गरेको बताएका छन् ।
ब्याज असुल नभएर निष्क्रिय अवस्थामा जाने कर्जालाई सक्रिय अवस्थामा कायम राख्न ऋणीलाई विभिन्न शीर्षकमा थप ऋण दिने अभ्यास छ ।
चैतमा वाणिज्य बैंकहरुले ८१ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। जसमध्ये १२ अर्ब ७० करोड रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा थपिएको छ ।
सो अवधीमा प्रभु बैंकले १२ अर्ब ६० करोड, कुमारी बैंकले ९ अर्ब ५० करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ अर्ब ३० रुपैयाँ निक्षेप बढाएका छन्। १५ बैंकमा निक्षेप थपिंदा ५ बैंकमा भने घटेको छ । सिटिजन्स, लक्ष्मी सनराइज, एनआईसी एसिया, स्टान्डर्ड चार्टर्ड र सानिमा बैंकको निक्षेप घटेको छ ।
तपाईको प्रतिक्रिया